इजरायलमा नेपाली विद्यार्थी मात्र बाँकी, अन्य देशले गरिसके उद्धार

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले इजरायलमा भएको युद्ध प्रभावित क्षेत्रमा फसेका विद्यार्थीलाई सुरक्षित स्थान तर्फ लैजाने काम भइरहेको बताएको छ। यस विश्वविद्यालयबाट गएका विद्यार्थीमध्ये ३४ जना युद्ध प्रभावित क्षेत्रमा फसेका थिए। ती मध्ये ८ जना विद्यार्थीलाई बंकरबाट निकालेर सुरक्षित होटल तर्फ लैजाने काम भइरहेको कृषि विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक शिव चन्द्र ढकालले जानकारी दिए। बाँकी २६ जनालाई पनि इजरायल स्थित नेपाली दूतावास र एनआरएनको सहयोगमा सुरक्षित स्थान तर्फ लैजानका लागि पहल भइरहेको ढकालले जानकारी दिए।

‘केही घण्टाअघि बंकरमा रहेका ८ जना विद्यार्थीलाई उद्धार गरेर नजिकको होटल तर्फ लाने काम भएको छ। बंकरमा रहेका बाँकी विद्यार्थीको नाम सुरक्षाकर्मीसंग पुगेको छ,’ ढकालले नागरिकसंग भने, ‘त्यहाँको सुरक्षा प्रणालीअनुसार उद्धार गर्ने प्रकृया चलेको छ।’ उनका अनुसार एक जना विद्यार्थी बंकरबाट निस्केर त्यहाँको सुरक्षाकर्मीलाई फसेका विद्यार्थीको नाम टिपाइसकेका छन्। उनीहरु अहिले ह्वाटस् एप मार्फत सुरक्षाकर्मीसंग सम्पर्कमा रहेको उनले बताए। कर्फु हटेपछि सुरक्षित स्थान तर्फ सार्ने बताइएको छ। अहिले इजरायल स्थित नेपाली राजदुतावास, एनआएनलाई उद्धार गरिदिन पहल गरिरहेको ढकालले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सन् २०२३ र २०२२ मा गरी १ सय १९ जना विद्यार्थी गएका थिए। उनीहरु मध्ये १ सय १३ जना विद्यार्थी गएको एक महिना पुगेको छ। उनीहरुमध्ये तीन वटा फार्ममा काम गर्ने ३४ जना विद्यार्थी युद्ध क्षेत्रमा फसेका हुन्। उनीहरु आफ्नो फार्म भन्दा नजिकैको बंकरमा सुरक्षित रहेको ढकालले जानकारी दिए।

‘बंकरबाट उनीहरुको कोठा नजिक छ। पालो पालो गरेर खाना लिन जाने गरेका छन्। उनीहरुले छिटो जे सम्भव हुन्छ त्यही ल्याएर खाने गरेका छन्। फार्म मेनेजरले पनि सक्ने जति जङ्फुड लगायतका खाना दिने गरेको विद्यार्थीले बताएका छन्,’ उनले भने। कृषि विश्वविद्यालयबाट गएका ३४ जना बाहेक अन्य विद्यार्थी नियमित काममा नै रहेको उनले जानकारी दिए।

फसेका विद्यार्थीको नाम भने विश्वविद्यालयले गोपनियताका कारण देखाइ गोप्य राखेको छ। तर, उनीहरुसंग निरन्तर सम्पर्कमा रहेको ढकालले जानकारी दिए। युद्ध प्रभावित क्षेत्रबाट अन्य देशहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको बताइएको छ। तर, नेपाली विद्यार्थीको उद्धारमा भने ढिला भएको छ। ‘विद्यार्थीसंग सम्पर्कमा रहेर काउन्सिल गर्ने काम गरेका छौँ,’ उनले भने, ‘उहाँहरुले छिटो उद्धार गर्न प¥यो भन्नुभएको छ। यहाँबाट हामीले पनि नेपाल सरकारसंग पहल गरेका छौँ।’

नयाँ ठाउँ भएकाले पनि विद्यार्थी आत्तिएको उनले बताए। ‘विद्यार्थी अभिभावक आक्रोषित हुनुहुन्छ, भर्खर गएका विद्यार्थीले लोकलसंग तुलना गर्नुभएको छ। उनीहरुलाई त्यहाँको सुरक्षित स्थान सबै थाहा छ। चिनेजानेका आफन्त आएर सुरक्षित स्थान तर्फ लैजाने गरेका छन्। हाम्रा विद्यार्थी गएको एक महिना पनि भएको छैन। त्यहाँको भाषा पनि राम्रोसंग थाहा छैन। चिनेका पनि छैनन्,’ उनले भने, विश्वविद्यालयको टिम नै लागेको छ। सरकारी निकायसंग हारगुहार गरेको अवस्था हो। तुलनात्मक रुपमा सुरक्षित ठाउँमा ल्याउन लभिङ जारी राखेका छौँ।’

उनले अहिले नै टिक काटेर विद्यार्थीलाई फिर्ता ल्याउने अवस्था नरहेको बताए। यस विश्वविद्यालयबाट वन संकाय तर्फका २७ जना डेढ महिनाअघि गएका थिए। कृर्षि तर्फका एक महिना अघि ८६ जना गएको उनले बताए। उनले फसेका विद्याथीहरु तत्काल बङ्कर भित्र नै बस्न सुरक्षित हुने बताए।
नागरिक