सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजपनि स्थगित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा बिहीबार स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा परेको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेको कारण लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । फाँट नम्बर २८ मा रहेका अन्य सबै मुद्दा पनि स्थगितको सूचीमा परेको छ ।

हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दा वैशाख २४ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि विविध कारण अन्य आदेश हुँदै पर धकेलिएको छ । त्यतिबेला पनि कुनै पनि न्यायाधीशले सन्दीप प्रतिवादी रहेको मुद्दाको गोला नतानेपछि स्थगित भएको थियो ।

वैशाख २४ गते विविध कारणले सर्दै आएको उक्त मुद्दा भदौ १० गते नै अन्तिम सुनुवाइ गर्ने भनिए पनि त्यतिबेला हेर्न नभ्याउनेमा परेको थियो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २५ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

सो निवेदनमाथि सर्वोच्च अदालतले विदेशमा खेल खेल्न जानका लागि अनुमति दिई नेपाल फर्किए लगत्तै सो को जानकारी अदालतलाई दिनुपर्ने आदेश दिएको थियो । सरकारी वकिल भने सन्दीपलाई थुनामै राख्नुपर्ने रिट लिएर सर्वोच्च पुगेको थियो । सर्वोच्चकै आदेशमा सन्दीपले पीडित भनिएकी गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति बापत एक लाख रुपैयाँ दिइसकेका छन् । सर्वोच्चले पीडितको स्वास्थ्य उपचार लगायतका लागि आरोपितबाट अन्तरिम क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।