यू-१९ प्रिमियर लिग : दीपेशको घातक बलिङ, साउदी अरबविरुद्ध पनि लिए ५ विकेट

काठमाडौं । एसीसी यू-१९ प्रिमियर लिगमा साउदी अरबविरुद्ध नेपालका स्पिनर दीपेश कँडेलले फेरि एकपटक घातक बलिङ गरेका छन् ।

प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उनले साउदीविरुद्ध पनि पाँच विकेट लिएका छन् ।

यससँगै तीन खेलमा दीपेशको विकेट संख्या १४ पुगेको छ ।

दीपेशले पहिलो म्याचमा इरानविरुद्ध ७ ओभरमा पाँच रन खर्चेर तीन विकेट लिएका थिए । दोस्रोमा बहराइनविरुद्ध अझै आक्रामक प्रदर्शन गरेका उनले ९.५ ओभरमा ३ रनमात्रै खर्चेर ६ विकेट लिन सफल भए ।

दीपेशको बललाई कुनै पनि टीमका ब्याट्सम्यानले रिड गर्न सकिरहेका छैनन् । आज उनले आफ्नो पहिलो ओभरबाटै विकेटको खाता खोलेका थिए ।