भारतले सुरक्षा हटाएपछि क्यानडाले आफ्ना ४१ कूटनीतिज्ञ बोलायो फिर्ता

काठमाडौं । क्यानडा र भारतबीच जारी कूटनीतिक विवादका बीच क्यानडाले भारतबाट आफ्ना ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतले केही क्यानडाली कूटनीतिज्ञको सुरक्षा फिर्ता लिने कुरा गरेपछि क्यानडाले ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार क्यानडाका विदेशमन्त्री मेलानी जोलीले भनिन्, ‘भारतले औपचारिक रूपमा २१ क्यानडाली कूटनीतिज्ञबाहेक सबैको कूटनीतिक संरक्षण हटाउन आग्रह गरेको छ ।’

जोलीले भनिन्, ‘यसको अर्थ भारतमा कार्यरत ४१ क्यानडाली कूटनीतिज्ञ र उनीहरूका परिवारका ४२ सदस्यको कूटनीतिक संरक्षण समाप्त हुनेछ र यसले उनीहरूको व्यक्तिगत सुरक्षामा खतरा हुन सक्छ ।’

उनले भारतको यो निर्णयले दुवै देशका दूतावासको काममा भने असर नपर्ने बताइन् ।