त्रिदेशीय टी-२० सिरिज : युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा युएईले नेपाललाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो।

अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरेका हुन्।

त्यसअघि अविनाश बोहराले युएईको दुई महत्वपूर्ण विकेट लिए। युएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोकेका हुन्। उनीहरू दुबैजना ४५ रन बनाएर आउट भए।

त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भए। उनी ९ रन बनाएर आउट भएका हुन्।

गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरे। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरे।

सोमपाल कामीले पनि दुई विकेट लिएका छन्।

उनले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।

सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए।

नेपालले यस सिरिजमा लगातार तीन जित हात पारिसकेको छ। हङकङलाई दुई पटक र युएईलाई एक पटक पराजित गरिसकेको छ।

तीन जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ।

त्यसअघि बुधबार युएई र हङकङबीच मुलपानीमा खेल हुनेछ। आइतबार युएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।