रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका फ्रान्सका ६८ वर्षीय एक पर्यटकको लडेर मृत्यु

काठमान्डौं । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोल छन्।

रसुवाका प्रहरी नायव उपरीक्षक डिएसपी सुवास बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत् लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल गम्भीर घाइते भएका थिए।

उनी सडकबाट ३०र४० मिटर तल खसेका थिए। विदेशी पर्यटक लडेको सूचना पाएपछि पुगेको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए।

प्रहरीको टोलीले मोललाई दिउँसो पौने २ बजेतिर उद्धार गरी स्थानीय चौकीमा पुर्‍याएको थियो।

डिएसपी बुढाथोकीका अनुसार स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात मोललाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले मोलको मृत्यु भएको बताएको थियो।

मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए। उनीसँग एकजना पथप्रदर्शक पनि रहेको डिएसपी बुढाथोकीले जानकारी दिए।