तिहारको लागि फूल किन्ने सेवाग्राहीहरुको सहजताका लागि धनगढीमा फूल बिक्री केन्द्र स्थापना गरियो

काठमान्डौं । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना गरिएको छ । किसानद्वारा उत्पादित फूलको सहज बिक्री गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालय परिसर र बोराडाँडीमा रहेको भाटभटेनी सुपरमार्केट परिसरमा फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।

धनगढी उपमहानगरपालिकाद्वारा स्थापना गरिएको फूल बिक्री केन्द्रबाट किसानको फूल बिक्री वितरण हुने जनाइएको छ । फूल किन्ने सेवाग्राहीहरुको सहजताका लागि फूल बिक्री केन्द्र स्थापना गरिएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले केन्द्रबाट किसानलाई फूल बिक्री गर्न र उपभोक्तालाई खरिद गर्न सहज हुने उल्लेख गर्नुभयो ।

प्लाष्टिक निषेधित धनगढीमा प्लाष्टिकको माला प्रयोगमा उपमहानगरपालिकाले रोक लगाएको छ । धनगढीमा प्लाष्टिक निषेध गरिएकाले व्यावसायिक रुपमा फूलखेती गरिरहेका कृषक उत्साहित भएका छन् । धनगढी नगर क्षेत्रभित्र करिब पाँच बिघा जमिनमा २७ जना किसानले फूलखेती गरेका छन् । धनगढी उपमहानगरपालिकाले २०७९ असोज १ गतेबाट नगर क्षेत्रमा प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ ।रासस