यमपञ्चकको चौथो दिन गोवद्र्धन पूजा गरिँदै

काठमाडौँ । हिन्दु धर्मावलम्वी नेपालीहरुको दोश्रो महान चाड तिहार अर्थात यमपञ्चकको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा विभिन्न परिका खुवाएर मनाईँदै छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजाआजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने चलन रहँदै आएको छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको धार्मिक मान्यता रहि आएको छ ।

किन गरिन्छ हलि एवम् गोरु पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ ।

यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।