पोखरामा धान खेतीको लागि उपयुक्त वातावरण ,४० हजार भन्दा बढी मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौं । पोखरामा यस बर्ष करिब ४० हजार भन्दा बढी मेट्रिक टन धान उत्पादन हुने भएको छ । यस बर्ष पोखरामा धान खेतीको लागि उपयुक्त वातावरण भएसँगै ४० हजार ३ सय २० मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो ।

पोखरा क्षेत्रमा ११ हजार २ सय हेक्टर क्षेत्रमा धान उत्पादन हुने गरेको उहाँले उल्लेख गर्नु भयो । यस बर्ष समयमै पर्याप्त मात्रामा पानी परेको समयमै किसानले मल प्राप्त गरेकोले गर्दा पोखरा क्षेत्रका किसानले लगानीको धानवाली राम्रो भएको महाशाखा प्रमुख कडरियाले बताउनु भयो । उहाँका अनुसार टारी खेत बाहेक पानी लाग्ने ठाउँको धान थन्काउन यति वेला पोखरा क्षेत्रका किसान व्यस्त हुनु भएको छ ।

पोखराको पहिचान नै बनाएको पोखरेली जेठोबुढो, पहेले, झिनुवा, गुर्दी लगायतका जातको धान केही ढिलो पाक्ने हुँदा उक्त जातको धान थन्काउन पोखराका किसानलाई हाल व्यस्तता भएको उहाँको भनाई छ । पोखरा क्षेत्रका पार्दी बिरौटा, फेवाफाँट, भद्रकाली, शिशुवा, पोखरा फूलबारी, हेमजा, बेगनासफाँट, लामाचौर लगायतको क्षेत्रमा हाल धान काट्न त केहीले धानको कुन्यो लगाउन किसान व्यस्त हुनु भएको हो ।

पोखरामा केही स्थानमा मात्र धान काटे पछि धान चुट्न नपर्ने गरी धान र पराल निकाल्ने थ्रेसर मेसिन प्रयोग हुन थालेको छ । पोखरा क्षेत्रमा अझै पनि पर्म सिस्टम चल्दै आएको छ । धान खेती पछि हिउँदे वाली गहुँ केही क्षेत्रमा आलु लगाउन किसानलाई हाल व्यस्तता रहेको देखिन्छ ।