अख्तियारद्धारा सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिका थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएको छ ।

अख्तियारले सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग गरेको अन्तर्क्रियामा प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तले कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले विषयगत मन्त्रालयले सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने तथा सार्वजनिक निकायले भ्रष्टाचार नियन्त्रण तथा संस्थागत सुशासन प्रवर्धन गर्ने कार्य गर्नुपर्ने सुझाव र निर्देशन दिनुभयो ।

आयोगले बुधबार र बिहीबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माणको प्रभावकारिता सम्बन्धमा सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग अन्तर्क्रिया गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा आयोगका पदाधिकारी र सार्वजनिक नियामक निकायका प्रमुखको उपस्थितिमा आयोगले दिएका सुझावको कार्यान्वयनबाट भएका उपलब्धि, सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासबारे छलफल भएको समेत उहाँले बताउनुभयो । त्यसै गरी पदाधिकारी, संस्थानसम्बद्ध विषयगत मन्त्रालयका सचिव र सार्वजनिक संस्थानका प्रमुखको उपस्थितिमा सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासबारे छलफल भयो । कार्यक्रममा आयोग र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका तर्फबाट छुट्टाछुट्टै प्रस्तुति गरिएको थियो ।