आयोगद्धारा राष्ट्रिय सभाके निर्वाचन माघ ११ गते गर्न सुझाव

काठमाडौं । राष्ट्रिय सभामा २०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि फागुन २० गते सकिने भएकाले निर्वाचन आयोगले आउँदो माघ ११ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १९ सदस्य मतदानबाट र राष्ट्रपतिबाट मनोनीत एक गरी २० जना निर्वाचित हुने छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बिहान आयोगका प्रमुख आयुक्त तथा आयुक्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरी राष्ट्रिय सभा सदस्यको निर्वाचनको मितिबारे परामर्श दिएको हो । प्रधानमन्त्रीले आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने जानकारी दिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनु भयो ।

प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिन्छ । निर्वाचन कानुनबमोजिम पद रिक्त भएको ३५ दिनअघि नै राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनुपर्ने हो । जस अनुसार माघ १५ गतेभित्र निर्वाचन गर्नुपर्ने छ । “आयोगले माघ ११ गतेको मिति निर्वाचनका लागि प्रस्ताव गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्रीले मन्त्रीपरिषद्को अर्को बैठकबाट मिति घोषणा हुने बताउनुभयो ।”
राष्ट्रिय सभाका सदस्य, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेशगत आधारमा कोशी, मधेश र लुम्बिनीबाट दुई दुई जना, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन तीन सदस्य ,समावेशी समूह अन्तर्गत अन्य र महिला समूहबाट सात सात, दलितबाट दुई तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट तीन सदस्य निर्वाचित हुने छन् ।

२०७८ को राष्ट्रिय जनगणनाबमोजिम निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा मतदाता रहने प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभारसमेत पुनरवलोकन गरेको छ । जस अनुसार स्थानीय तहका मतदाताको मतभार १९ र प्रदेश सभा सदस्यको मतभार ५३ कायम भएको छ ।

ताजा अपडेट