समाजमा अझैपनि ८० प्रतिशत घरेलु हिंसा, ८९ प्रतिशत चिनजानका मानिसहरुबाटै हिंसा हुने तथ्याङ्क

काठमाडौँ । शनिबारबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रहरीमा दर्ता भएका मुद्दालाई विष्लेषण गर्दा लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । त्यसैगरि ८९ प्रतिशत चिनजानका मानिसहरुबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको पाइएको छ । र्
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले चिनाजानबाटै हिंसामा पर्नु दुःखद् कुरा भएकाले यसलाई रोक्न समुदायको सक्रिय सहभागिताको खाँचो रहेको औँल्याउनुभयो ।

विवरणानुसार घरेलु हिंसाभित्र श्रीमानश्रीमतीबीच हुने घरेलु हिंसाका घटनामात्रै ६७ प्रतिशत रहेको छ । पछिल्लो एक वर्षमा प्रहरीमा १६ हजार पाँच सय १९ घरेलु हिंसा र अन्य लैङ्गिक हिंसा चार हजार तीन सय ९४ वटा दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

उमेर समूहका हिसाबले पीडित भएकामध्ये ६३ प्रतिशत बालिका (११ देखि १६ वर्ष)का छन् । पीडक भने १० वर्षदेखि २५ वर्षका मात्रै झण्डै ३८ प्रतिशत छन् । डर, धाक, धक्की देखाएर ५० प्रतिशत हिंसा भएको र चकलेट खुवाएर ३५ प्रतिशत तथा विवाह गर्ने लोभ देखाएर १४ प्रतिशत हिंसाका घटना भएका रहेका छन् ।

निर्देशनालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ८९ प्रतिशत चिनजानका मानिसबारै हिंसा भएको तथ्यले देखाएको जानकारी दिनुभयो । त्यसमा पनि १२ प्रतिशत आफ्नै परिवारका, झण्डै २३ प्रतिशत छिमेकी, शून्य दशमलव ४६ प्रतिशत शिक्षकले हिंसा गरेको घटना दर्ता भएको छ भने त्यसैगरि केटा साथीबाट पाँच प्रतिशत हिंसाका घटना भएका तथ्यले देखाएको छ ।