विद्युत मिटर जडानमा आनाकानी , वडाबासीलाई समस्या

काठमाडौं । वडा कार्यालयले विद्युतीय मिटर जडान गर्न आनाकानी गर्दा विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले सडकबत्ती (टावर लाइट) को लाइन काटेपछि वडाबासीलाई समस्या भइरहेको छ ।

प्राधिकरणलाई जानकारी नै नगराई चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकाका वडा अध्यक्षले बिनामिटर सडक बत्ती जडान गरेका कारण लाइन काटिएपछि वडाबासीलाई समस्या परेको हो । वितरण केन्द्रले चन्द्रपुर नगरपालिकाको वडा ४, ५ र ६ मा ३७ वटा, बृन्दावनको विभिन्न वडामा १७ वटा र गुजरा नगरपालिकामा ७ वटा गरी ६१ वटा सडक बत्तीको लाइन काटेको छ ।

दसैंअघि नै जडान भएका ती बत्तीको मिटर राख्न वितरण केन्द्रले पटक–पटक आग्रह गर्दा पनि वडा अध्यक्षले वास्ता नगरेको कारण बाध्य भई लाइन काट्नुपरेको केन्द्रका प्रमुख धिरेन्द्र यादवले बताउनुभयो । उहाँकाअनुसार वडा कार्यालयले मिटर लिन चाहेमा निःशुल्क उपलब्ध गराई पुनः लाइन जोडिने छ ।
यसअघि चन्द्रपुर नगरपालिकाले जडान गरेको सडक बत्तीको बक्यौता महसुल दुई करोड ६५ लाख रुपियाँ रहेको जानकारी दिनुहुँदै प्रमुख यादवले भुक्तानीका लागि नगरपालिकामा कैयौँ पटक पत्राचार गरेको, भेटेरै पनि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरेको तर पनि भुक्तानी नभएको जानकारी दिनुभयो ।

उज्यालो अभियान भन्दै वडा कार्यालयले बत्ती जडान गर्दा खुसी भएका स्थानीयबासी लाइन काटेपछि निराश बनेका छन् । चन्द्रपुर –६ का टुकबहादुर पुरीले भन्नुभयो, “टावर लाइटको उज्यालो निकै परसम्म पुग्ने हुँदा रातबिरात हिडडुल गर्न निकै सजिलो भएको थियो । चोरी पनि बन्द भएको थियो । अब समस्या पर्ने भयो ।”

यता, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले नगरपालिका मातहतमा रहेका नगरपालिका कार्यालय, स्वास्थ्य संस्था, पशु तथा कृषि कार्यालय र वडा कार्यालयमा जडित मिटरको मात्र बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिनुभयो ।

सस्तो लोकप्रियताका लागि तँछाडमछाड गरी करिव ११ मिटर अग्लो टावर लाइटको चारदेखि ६ वटा प्यानलसहित बालेका सडक बत्तीको लाइन काटिएपछि सम्बन्धित वडाका वडाअध्यक्ष मिटर जडान गर्न आनाकारी गरिरहेको स्थानीयको गुनासो छ ।

ताजा अपडेट