श्रव्यदृश्य संवादमार्फत चार जिल्लाका उच्च अदालतहरुले गरे मुद्दाको सुनुवाई

काठमाडौं । चार जिल्लाका उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासहरुले श्रव्यदृश्य संवाद (भिडियो कन्फ्रेन्स) मार्फत मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

सर्वोच्च अदालतले बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ सुरु गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले अब आ–आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताउनुभयो । नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनतालाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको उहाँले बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले यसभन्दा अघि सर्वोच्च अदालतले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ सुरु गरेको थियो । अब मुद्दाको फर्छ्योट चाँडै हुने, कम खर्चिलो हुने र न्यायमा पहुँच सरल हुने माध्यम बनेको समेत उहाँले बताउनुभयो । कानुन व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर बहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि उहाँको भनाइ छ । आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गर्ने अभियान विस्तार गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्‍याउन सहयोग पुग्ने उद्देश्य राखेको जानकारी दिनुभयो ।