नेपालमा लगानी गर्न युएई लगानीकर्ताहरुसमक्ष अध्यक्ष ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन आग्रह गर्नुभएको छ ।

उहाँले युएईको दुबई मा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको हो।

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरुलाई आग्रह गर्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताउनुभयो । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

उहाँले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले ‘लक्जरी’ होटेल तथा रिपोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबुलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागिसमेत आग्रह गर्नुभयो ।

उहाँले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको, डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको जानकारी दिएसगैँ व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्नपनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत नेपालमा लगानी गर्न सकिने जानकारी दिनुभयो ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ तत्पर रहेको पनि अध्यक्ष ढकालले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको नेपाल युएई बिजनेस फोरममा नेपाल र युएईका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा नेपाल र युएईमा लगानीका सम्भावना र अवसरहरुका बारेमा दुई देशका लगानीकर्ताहरूले छलफल पनि गरेका थिए ।