रेडियो नेपाल तथा स्रष्टा र सर्जकहरू बीचको समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री शर्मा

काठमाडौँ । रेडियो नेपाल तथा स्रष्टा र सर्जकहरू बीचको समस्या समाधान गर्न सरकार तयार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

सिंहदरबार स्थित रेडियो नेपालमा आज आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयक स्रष्टाहरूसँगको अन्तरक्रियामा मन्त्री शर्माले रेडियो नेपाल र राज्यको तर्फबाट हुनुपर्ने स्रष्टा र सर्जकप्रतिको जिम्मेवारी तथा सम्मानमा कुनै कमी नहुने जनाएको छ।

मन्त्री शर्माले गीतसङ्गीत र सञ्चार क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको तर पछिल्लो समय सञ्चार क्षेत्रको विकास अनुरुप रेडियो नेपालले आफूलाई परिष्कृत गर्दै र जनमुखी बन्दै जानु आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले रेडियो नेपाल र गीतसङ्गीतबिच देखिएका समस्यामा कानुनी तथा व्यवहारिक बाधाहरू फुकाउन सरकार सदैव सकारात्मक रहेको जानकारी दिनुभयो ।