विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको प्रधानमन्त्री दाहालको भनाई

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ ।”

उहाँले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रूपले शान्तिका निम्ति अपिल पनि गर्नुभयो । रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिविद्धताले उक्त क्षेत्रको महत्त्व झन् बढेर गएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घका महासचिव आउनुभएको प्रसङ्ग स्मरण गर्दै अगाडि भन्नुभयो, “मैले राष्ट्र सङ्घका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो ।”

उहाँले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएका बताउनुभयो । उहाँले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताउनुभयो ।