मिटरब्याजीले अदालतमै कुटेपछि पीडितले प्रहरी कार्यालयमा दिए रातभर धर्ना

काठमाडौं । मिटरब्याजीले कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि रातभर पीडितहरुले धर्ना दिएका छन् ।

विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए । रातभर धर्ना बसेपछि मात्रै प्रहरीले जाहेरी लिएको छ । बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । धर्नामा पासवान पनि थिए ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बु जानकारी दिए । निरौलालाई बुधबार अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसपी लिम्बुले बताए । एसपी लिम्बुले पीडितलाई कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु विनाऔचित्य रातभर धर्ना बसेको बताए ।

पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी छन् । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए । छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवानले बताए ।