काठमाडौं । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् ।
उद्योग सञ्चालनको घोषणा सरकारले पटक–पटक गर्दै आइरहेको छ । तर, पुरानो प्रविधिमा जडान भएका मेसिनरी सामाग्रीबाटै उत्पादन थाल्न असम्भव प्रायः देखिएपछि सबै निकाय पछि हट्दै आइरहेका छन् ।
सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर उत्पादित कपडाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बर्दी उत्पादन गर्ने घोषणा गरेको थियो । तर, सरकारद्वारा गतवर्ष विनियोजित बजेटबाट उद्योग पुनः सञ्चालन नहुने देखेपछि सबै निकाय पछि हट्दै आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त बताउँछन् ।
उद्योगबाट उत्पादित कपडा सेनाले प्रयोग गर्ने घोषणा भएपछि उसको नै उद्योगमा ध्यान गयो । यसका लागि नेपाली सेनाले विभिन्न निकायसँग कयौँ पटक छलफल समेत गरिसेको छ । जसअनुसार एक महिनाअघि रक्षा मन्त्रालय मातहतबाट औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग समेत बैठक बसेको थियो ।
नेपाली सेनाले उद्योग चलाउने योजनासहित स्थलगत अध्ययन समेत गरिसकेको छ । अध्ययनबाट सेनाले पुरानो प्रविधिको दुई दशकभन्दा धेरै समयदेखि नचलेको मेसिनरीबाट उद्योग सञ्चालन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ । यसका लागि सेनाले नयाँ मेसिन किन्ने र त्यसका लागि ३ अर्ब रुपैयाँ सम्मको लागत अनुमान गरिसकेको बताइन्छ ।
‘सेनाले ३ अर्ब रुपैयाँ लगानी गरेर नयाँ मेसिनरी ल्याउने र उद्योगको भवनलाई मर्मत सम्भार गरेर सञ्चालनको योजना अघि बढाएको छ,’ स्रोतले भन्यो, ‘यसबारे औपचारिक छलफल भोलिदेखि हुन्छ । प्रधानमन्त्रीकै रोहबरमा सेनासहित संयुक्त बैठक हुँदैछ ।’ नेपाली सेनाले विभिन्न भवन, सडक मार्ग लगायतका काम गर्दै आइरहेको छ । हेटौँडा सिमेन्ट कारखाना सञ्चालनमा ल्याएमा सेनाले औद्योगिक उत्पादन समेत सुरु गर्छ ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तररुपमा वर्षौँदेखि बन्द अवस्थामा रहेका रुग्ण उद्योग सञ्चालनका लागि निरन्तर छलफल गरिरहेका छन् । आइतबार मात्रै उनले उद्योग मन्त्रीसहितको टोलीलाई बोलाएर छिटो मन्त्रीपरिषद्मा रुग्ण उद्योग चलाउने खाका प्रस्ताव गर्न भनेका थिए ।
प्रधानमन्त्रीले रुग्ण उद्योग चलाउने सम्बन्धी अध्ययन प्रतिवेदन एक सातामा पेस गर्न भनेसँगै यतिबेला उद्योग मन्त्रालय खाकालाई अन्तिमरुप दिनतर्फ लागेको उद्योग सचिव मुकुन्द निरौला बताउँछन् ।
नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारी सेनाले वर्षौँदेखि बन्द उद्योग सञ्चालन गर्न सक्नेरनसक्नेबारे प्रारम्भिक अध्ययन गरिरहेको बताए ।
उनले यसबारे ठोस निर्णय भइनसकेपनि प्रारम्भिक अध्ययनमा नेपाली सेना रहेको जानकारी दिए । ‘वर्षौँदेखि बन्द अवस्थामा रहेको यो उद्योग सञ्चालनमा ल्याउन सकिएमा सेनाले प्रयोग गर्ने बर्दी उत्पादन गर्न सकिन्छ भन्ने प्रारम्भिक निष्कर्ष छ,’ उनले बताए ।
Add Comment