लथालिङ्ग ठूला विकासे आयोजना प्रभावकारी बनाउन प्रतिबद्धता

दैलेख । जिल्लामा सञ्चालित लथालिङ्ग ठूला विकासे आयोजनालाई प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाको समग्र विकासमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय विकास संवाद सुरु गरेको हो ।

जिल्लाको समग्र विकास, सुशासन, पारदर्शिता कायम नहुनाका साथै दिगोपना पनि नभएकाले कार्यक्रममा सहभागी सबैले १५ बुँदे सहमतिपत्रमा साझा हस्ताक्षर गरेका हुन् । प्रतिनिधिसभा सदस्य अमरबहादुर थापाले सबैले आ–आफ्नो स्थानबाट प्रभावकारी काम गर्न सके जिल्लाको समग्र विकासमा सहयोग पुग्ने बताए । कर्णाली प्रदेशसभाका सदस्य एवम् पर्यटनमन्त्री कृष्णकुमार विसीले प्रमुख जिल्ला अधिकारीले दैलेखको समग्र विकासमा देखिएका समस्या समाधानका लागि पहल हुनुपर्ने विषय उठान गर्नु आफैँमा महत्वपूर्ण भएको बताए ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लाका ठूला विकासमा सबैको चासो र चिन्ता भएकाले काममा बदमासी गर्ने जो सुकैलाई पनि कारबाही प्रक्रिया तत्कालै अगाडि बढाउने बताएका छन् छ । रणनीतिक योजनाका रुपमा करिब १६ वर्षदेखि निर्माण सुरु गरेर पनि सम्पन्न हुन नसकेको कर्णाली राजमार्गको जाक्सिखोला पुल निर्माण नहुँदा कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले निकै हैरानी बेहोर्दै आएका र सडकको स्तरोन्नति नहँुदा यात्रुले खाल्डे सडकमा उचालिँदै र पछारिँदै यात्रा गर्नुपर्ने अवस्था भएको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले बताए ।

आठबीसमै पर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनासमेत १५ वर्षदेखि निर्माण हुन नसकेको उनको गुनासो थियो । जिल्लामा सञ्चालित सडक आयोजनाको काम प्रभावकारी नभएको र जिम्मेवारी लिएका निर्माण कम्पनीमध्ये धेरै जसो काम छोडेर भागेकाले तत्कालै सडक विभागले कारबाही गर्नुपर्नेमा कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारी र पूर्वसांसद रवीन्द्रराज शर्माले जोड दिए ।

दैलेखकै मध्यपहाडी राजमार्गको एक सय २६ किलोमिटर सडक खण्डमा पेटी ठेकेदारले काम गरेका कारण गुणस्तरीय हुन नसकेको, सुर्खेत दैलेख सडकखण्ड २६ वर्षदेखि एक लेन सडकका रुपमा चलिरहेको, दैलेखका विभिन्न स्थानमा निर्माण थालिएका स्वास्थ्य संस्थाहरु अलपत्र अवस्थामा रहेकाले तत्काल व्यवस्थित गर्न केन्द्र र प्रदेश सरकारले चासो दिनुपर्ने स्थानीयवासी विशाल सुनारको भनाइ थियो ।

पन्ध्र बुँदे प्रतिबद्धता

पन्ध्रबुद्धे प्रतिवद्धतामा जिल्लाको भविष्यसँग जोडिएको महत्वपूर्ण सुर्खेत दैलेख, महाबु, कालीकोट, जुम्ला, मुगु, गम्गढी, नाम्चे हुँदै लाग्ना सडकमा देखिएको अवरोध हटाइने, भैरवी गाउँपालिका १ जलजलेमा उत्खननको अन्तिम चरणमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम प्रभावकारी बनाइने, पुष्पलाल मध्यपहाडी लोकमार्गको काम प्रभावकारी बनाइने, अन्य राजमार्ग निर्माणमा गुणस्तरीय बनाउन अनुगमनलाई तीव्रता दिइने, आठवीस नगरपालिकाको राकममा निर्माण हुने नयाँ सहर आयोजनाको काम अघि बढाउन पहल गरिने, प्रदेश र केन्द्र सरकारबाट आएका विकासका काम अनिवार्यरुपमा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने र पञ्चकोशी क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटन विकासका काम गर्नेलगायत विषयमा साझा प्रतिबद्धता गरिएको थियो । कार्यक्रममा जिल्लाका १२ निर्वाचित सांसद, जिल्लाका सबै राजनीतिक दल, ११ वटा पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो । रासस