काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्ने उदेश्य सहित नेपालमा भ्रमणमा रहेका कोरियाका परराष्ट्रमन्त्री छो ह्युन र परराष्ट्र मन्त्री शिशिर खनाल बीच छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर निकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको ‘डिजास्टर रिलिफ टिम’ पठाउनुभएकामा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गर्दै बाढीपीडित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गरेका थिए ।
भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

