नयाँ सरकारको खेलमा नलाग्ने विश्वप्रकाशको दावी

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि सभापति शेरबहादुर देउवाले सक्रियता देखाएपनि सफलता हात पार्न सकेका छैनन् । साना दललाई अल्झाएर राख्ने र प्रचण्ड नेतृत्वको सरकारलाई बहुमत पुग्न नदिने रणनीति असफल भएपनि कांग्रेस छटपटीमा देखिन्छ । यस्तोमा महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको पछाडि नलाग्ने दाबी गर्दै गर्दा भने प्रदेशदेखि केन्द्रसम्म सत्ता प्राप्तिमा कांग्रेस खुब समय खर्चिन तयार देखिएको छरपष्ट छ ।

नेपाली कांग्रेसले मुखैमा आएको सत्ताको नेतृत्व मात्रै गुमाएन, प्रदेश सरकारबाट समेत बाहिरिनुपर्ने स्थिति बन्यो । कांग्रेस महासमिति बैठकदेखि कोशी प्रकरणका कारण चिढिएको माओवादी केन्द्रले सत्ता गठबन्धन फेरेपनि कांग्रेस अझैं वैकल्पिक सरकार बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा केन्द्रित रह्यो । तर, केन्द्रमा सफल हुनै सकेन । यद्दपी, प्रदेशमा भने कांग्रेसको कसरत खुब चलिरहेको छ । यस्तो अवस्थामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारको धन्दामा नलाग्ने दाबी गरेका छन् ।

महामन्त्री शर्माले यस्तो दाबी गर्नुअघि देउवा निवासमा देखिएको राजनीतिक दौडधुप र देउवाले माधव नेपाललाई दिएको महत्वले पनि कांग्रेस सत्ता आशक्तिमा कति केन्द्रित थियो भन्ने त पुष्टी गर्छ नै तर अब प्रचण्ड नेतृत्वको सरकारलाई सहज बहुमत प्राप्त भएको मात्रै छैन, केहि साना पार्टीहरु आन्तरिक द्वन्द्धमा समेत फसेका छन् । नयाँ सत्ता गठबन्धनप्रति सत्तारुढ दलका नेताहरुले नै शुद्ध नभएको र केहि व्यक्ति बिवादीत रहेको भन्दै आक्रोपूर्ण अभिव्यक्ति दिएपनि वामपन्थी सहकार्यको विषय जोडेर यसलाई सहज भनिरहेका छन् ।

एमाले नेतृत्वको सत्ता गठबन्धन पनि सत्ताभोगकै निरन्तरताबाहेक हुन नसक्ने संकेतहरु देखा परेको भन्दै कतिपयले यसको विरोध गरिरहेका छन् । तर, एमाले नेतृत्वले भने गठबन्धनलाई लामो समयसम्म लैजानुपर्नेमा दृढता चाहिने तर्क गरिरहेको छ । अझ, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त यो गठबन्धन २०८४ सालको चुनावमा समेत उपयोग हुने दाबी गरेका छन् ।

सत्ता गठबन्धन बनेको केहिदिन मात्रै भएकाले पनि यसबारे प्रतिक्रिया आउनेक्रम चलिरहेको छ । गठबन्धनप्रति आशा देखाउनेहरु नभएका पनि होइनन् तर, मधेस केन्द्रित राजनीति गरिरहेका नेता राजेन्द्र महतोले पनि अहिलेको गठबन्धनबाट केहि प्राप्त नहुने जिकिर लिइरहेका छन् ।