काठमाडौं । २०४७ सालमा प्रजातन्त्र प्राप्तिका लागि साना लगानीका सञ्चार माध्यमहरुले खेलेको महत्वपूर्ण भूमिका कै कारण मुलुक आज संघीय गणतन्त्रसम्म आईपुगेको छ । मिसन पत्रकारितामा राज्य परिवर्तनका लागि सँधै साना लगानीका सञ्चार माध्यमहरुले योगदान गरे तर जस भने आफूलाई ठूला मिडिया भन्नेहरुले नै लिँदै आए । राज्य सत्ताले पनि त्यही रुपमा स्वीकार गर्दै गयो अनि साना लगानीका सञ्चार माध्यमलाई निमोठ्ने प्रयास निरन्तर छ नै ।
तर अहिले अवस्था फेरिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै साना लगानीका मिडियाहरुले पनि आफूलाई परिष्कृत गर्दै लगे । विगतमा समाचार बन्न नसकेका र सिण्डिकेट प्रणालीमा रहेको सञ्चार गृहहरुलाई अहिले डिजिटल माध्यमका कारण समाचार बन्न नसकेका भित्री तहसम्म पुगेर सिण्डिकेट तोड्ने कार्य साना लगानीका सञ्चार माध्यमहरुले नै गर्दै आए । त्यसको धेरै उदाहरणहरु छन् ।
२०६२/ ६३ को आन्दोलनमा केही नेताहरुले कान्तिपुरलाई आठौ दलको संज्ञा दिँएकै कारण कान्तिपुर बाहेक अरु सञ्चार गृह नै होइन भन्ने भ्रम लामो समयसम्म रह्यो । तर त्यो आन्दोलनमा मिसन पत्रकारितामा नै लागेका साना लगानीका मिडियाको महत्वपूर्ण भूमिका थियो । त्यसको जस अन्तिम अवस्थामा कान्तिपुरले पाएको हो । त्यही कारण कान्तिपुर देखि सवै त्रसित भए । कृष्णबहादुर महरा काण्ड,ललिता निवास काण्डदेखि, बालमन्दिर, सभामुख, मन्त्री गोकुल वाँस्कोटा, कृषि मन्त्री हरिपराजुलीसम्मका घटनाको बीउ रोप्ने काम साना मिडियाहरुले नै गरेका हुन् भन्दा अन्यथा नहोला ।
तर आज यस्तो दिन आयो । कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको दुईवटा नागरिकताको प्रसंग त्यही सानो लगानीको एक मिडियाले छताछुल्ल पारिदियो । सिरोहियाको दुईवटा नागरिकता छ वा छैन त्यसको छानविन सम्वन्धित निकायले नै गर्ला । यद्यपी सिरोहियालाई अहिले आच्छु आच्छु पार्ने काम भने त्यही साना मिडियाले नै बनाईदिएको छ ।
प्रजातन्त्र प्राप्तिको तीन दशकसम्म मृत्युको मुखमा पुगिसकेका साना लगानीका सञ्चार गृह पछिल्लो समय डिजिटल प्रविधिका कारण आफूलाई दवदवा बनाईरहेका छन् । जनताको पहुँचमा यिनै साना लगानीका सञ्चार गृह पुगेका छन् भने कर्पोरेट हाउस भनेर आफूलाई सँधै शक्तिकाली देखाउने सञ्चार गृह भन्दा साना लगानीका मिडियाको नै अहिले दवदवा एवं प्रभावकारीता देखिएको छ ।
Add Comment