जनतालाई सास्ती दिँदै सडक कब्जा गरेर नेशनल डे कन्सर्ट !

काठमाडौं । जनतालाई बाटो हिड्न नदिएर सरकारले रमिता देखाउन खोजिरहेको छ । नेपाल यस्तो देश हो जहाँ जनतालाई सास्ती र यो वा त्यो नाममा व्यापार गर्नेहरुले मस्ती मार्ने गर्दछन् । बुधबार काठमाडौंका सडकहरुमा सवारी जाम विहानैदेखि थियो ।

संविधान दिवसको अवसर भन्दै दरबारमार्गको सडक खण्डमा नेशनल डे कन्सर्ट गर्नका लागि जयनेपालबाट दरबारमार्ग तर्फको सवारी साधन रोकिएको थियो । केशरमहलबाट दरबारमार्ग जाने मार्ग पनि वन्द गरिएको थियो । नेशनल डे कन्सर्ट गर्न खोजिरहँदा आम नागरिकहरुको भने कन्चट तातिरहेको थियो ।

दरबारमार्गमा कन्र्सट गर्न दिएर सरकारले आम नागरिकहरुको कन्चट तताउने काम गरेको मात्र होइन जनताले मनबाट क्रमश टाढिदै गएको छ । जनतालाई सास्ती हुने गरी सडक नै कब्जा गरेर नेशनल डे कन्सर्ट किन मनाउने ? यदि कन्सर्ट मनाउनु थियो भने खुल्लामञ्च वा सैनिक मञ्चमा पनि खाली नै थियो ।वा दशरथ रंगशालामा गरेको भएपनि त हुन्थ्यो नि ?

सडक कब्जा गरेर सिमित व्यक्तिहरुलाई व्यापार गर्ने कन्सर्टले कसरी नेशनल डेको शान बढ्ला र ? हजारौ नागरिक ओहोर दोहोर गर्नु पर्ने सडक कब्जा गरेर गर्न दिने यस्ता कन्सर्टहरु तत्काल रोकिनु पर्दछ । कन्सर्ट गर्नका लागि सडक खण्ड कब्जा गर्ने होइन ।

खुल्ला मञ्च, सैनिक मञ्च, रंगशाला जस्ता ठाउँहरु तोक्नु र त्यस्तै ठाउँमा मात्र गर्दा सरकारले मनाउने नेशनल डे ले अर्थ राख्ला । अन्यथा जुन जोगी आएपनि कानै चिरेका भन्दा फरक पर्दैन ।