रवि लामिछानेलाई पक्राउ गरिने भएपछि पार्टी कार्यालयमा नेता कार्यकर्ता जम्मा हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिने हल्ला चलेसँगै यतिखेर पार्टी कार्यालयमा रास्वपाका नेता कार्यकर्ता एवं शुभचिन्तकहरुको भीड लागेको छ । प्रहरीले पक्राउ पुर्जि जारी गरिसकेको भन्दै पार्टीले कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको थियो । सो सर्कुलरसँगै पार्टी कार्यालयमा भीड लागेको हो ।
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।

आजै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लगिँदै छ । जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।