लेवनानमा इजरायल आतंक नेपालीलाई सुरक्षित रहन सरकारको आग्रह

बेरुत । लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको लेबनानी अधिकारीले जनाएका छन्। यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित रहेको सञ्चारमाध्यममा उल्लेख छ। इजरायलको यो आतंकले लेवनानको बेरुद अहिले त्रासमा रहेको छ ।
इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।
युद्ध चर्किएपछि नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।