मन्त्री बनिसकेका गुण्डा नाईके मनाङेलाई कारागार चलान

काठमाडौं । राजनीतिक दलहरु कै संरक्षणमा गुण्डागर्दी गरेर गुण्डा नाईकको पहिचान बनाएका दिपक मनाङेलाई अन्तत राजनीतिक दलहरुले नै पटक पटक मन्त्री बनाए । जव राजनीति दलहरुप्रति नै वितृष्णा हुने गरी मनाङेले अभिव्यक्ति दिन थाले त्यसपछि फेरि उनलाई त्यही राजनीतिक दलकै आडमा ज्यान मुद्दामा कारागार चलान गरियो । मंगलबार मनाङेलाई जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।

न्यायाधीश डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।