पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाटै हटायो एमालेले

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा.भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ । पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको ज्ञवालीले बताए ।

बैठकले पार्टी केन्द्रीय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रीय कार्यालय काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । ज्ञवालीका अनुसार केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन एजेण्डा तय गरेको छ ।

बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने, ‘बैठकले पार्टी केन्द्रिय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रिय कार्यालय काठमाडौंमा गर्ने निर्णय गरेको छ । बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन लगायतका चार वटा एजेण्डा तय गरेका छौं । सोहि एजेण्डामा केन्द्रित रहेर यो बैठक सम्पन्न हुनेछ । अनि हामीले वितेका पाँच महिनामा कांग्रेस–एमाले गठबन्धन सरकारको बारेमा समग्र समिक्षा गर्यौं ।

यो पाँच महिनाको अवधीमा केही महत्वपूर्ण काम गरेको भन्दै बैठक सन्तुष्टि पनि व्यक्त गरेको छ । अझ थप गति सरकारका कामहरुमा ल्याउनुपर्ने र अझै धेरै सुधारका कामहरुलाई अगाडि बढाउने आवश्यकता पनि बोध गरेको छ । खासगरि अर्थतन्त्रमा केही सुधारहरु देखा परेका छन् । शेयरबजार उच्चबिन्दुमा छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भएर कार्यान्वयनको पक्षमा गएको छ । बाह्य सम्बन्ध विस्तारमा प्रगति भएको छ । चीन सरकारसँग फ्रेमवर्कमा भएको हस्ताक्षर र अरु विभिन्न मुलुकसँग भएका निर्णयहरु महत्वपुर्ण छन् । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ । तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ । पार्टीका पूर्वउपाध्यक्ष रावलले पार्टीभित्र दिइएको जिम्मेवारी निर्वाह नगरेको भन्दै पार्टीको साधारण सदस्यबाट निस्काषन गर्ने निर्णय भएको छ ।’