आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुनुमा यस्ता छन् कारण

 

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो ।

अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छभने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत्् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ ।

यो क्षेत्र २१ दशमलव चार प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र छ दशमलव सात प्रतिशत योगदान रहेको छ । पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र छ दशमलव तीन, वित्तीय तथा विमा क्षेत्र पाँच दशमलव सात, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव चार र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आवको प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको अनुमान छ । निर्माण क्षेत्र शून्य दशमलव तीन प्रतिशतले नकारात्मक रहेको छ । अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने अनुमान छ । धानलगायतका वर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ । समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।

अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा शून्य दशमलव पाँच प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ ।

यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो”, कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।रासस