युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हात पारेको छ। लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।
हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रनको योगदान दिइन्। उनले ४३ बलमा ३ चौकासहित यो रन बनाइन्। कप्तान इन्दु बर्माले ३२ बलमा १८ रन जोडिन् भने पुजा महतो २० रनमा अविजित रहिन्।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो। हङकङका लागि साञ्जिन शाहजादले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रन जोडे। नेपालका लागि राजमती ऐरीले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट हात पारिन्।
सिरिजको लिग चरण सकिँदा नेपालले ६ मध्ये २ खेल जितेको छ। अब नेपालले तेस्रो स्थानका लागि प्लेअफ खेल्नेछ। युगाण्डा र नामिबियाबीचको खेलपछि फाइनल खेल्ने टोली तय हुनेछ।
यस जितसँगै नेपालले सिरिजमा केही सान्त्वना पाएको छ। यदि हङकङले नेपाललाई पराजित गरेको भए, उनीहरूले फाइनलमा स्थान बनाउने थिए। यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो।
Add Comment