सुधार होला त सेयर बजार

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको नेपालको सेयर बजारमा ऐतिहासिक उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै लगातार तीन पटक सर्किट ब्रेक लाग्दै नेप्से परिसूचक छ प्रतिशतले उकालो लागेर २९ सयको नजिक पुगेपछि सोमबारका लागि कारोबार बन्द गरिएको छ ।

करिब एक सातापछि खुलेको बजारमा लगानीकर्ताको उच्च उत्साह देखिँदा नेप्से परिसूचक छ प्रतिशतले बढ्दै तेस्रो सर्किट ब्रेक लागेर कारोबार बन्द भएको हो । बजार प्रिओपन सेसनमै १।६४ प्रतिशतले बढेको थियो । नियमित कारोबार सुरु भएको एक मिनेटमै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो । ११ बजेर २१ मिनेटमा पुनः खुलेको बजार केही सेकेन्डमै पुनः तीव्र रूपमा बढेर पाँच प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो ।

१२ बजेर १ मिनेटमा पुनः खुलेको बजारले वृद्धिको क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा छ प्रतिशत उकालो लागेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । तेस्रो सर्किट लागेसँगै सोमबारका लागि सम्पूर्ण कारोबार बन्द गरिएको थियो । सोमबार नेप्से १६२।९३ अङ्कले सुधारिँदा परिसूचक २८७५।४३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २८।११ अङ्क बढेर ४९४।१० को विन्दुमा पुगेको छ । समग्रमा सोमबारको नेप्से छ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ६।०३ प्रतिशतले बढेको छ ।

अब मुलुकमा राजनीतिक स्थिरताको सङ्केतले लगानीकर्ताको मनोबल उच्च बनाएको लगानीकर्ता बताउँछन् । यसअघि २०८१ असार तेस्रो साता संसद्का तत्कालीन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता साझेदारीको सहमति गरेपछि सेयर बजारमा परिसूचक उकालो लागेको थियो । त्यो बेला बजार तीन हजारको विन्दुमा पुगेको थियो भने कारोबार रकम २९ अर्ब ९५ करोड रुपियाँ पुगेको थियो । नेपालको पुँजी बजारमा राजनीतिक घटनाक्रमको प्रभाव फेरि एक पटक स्पष्ट देखिएको लगानीकर्ता बताउँछन् । निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्से छ प्रतिशतले बढेर सर्किट ब्रेक लाग्दा लगानीकर्ताले सम्भावित स्थिर सरकार र आर्थिक सुधारप्रति उच्च अपेक्षा राखेको सङ्केत दिएको छ ।