काठमाडौं । सुन्दा अचम्म लाग्छ । तर अचम्म मान्नु पर्ने कारण भने छैन । नेपालको शिक्षा प्रणालीका एउटा गम्भीर प्रश्उ उठाउँदै ५६ प्रतिशत विद्यार्थीहरु विद्यालय नपुगेको देखिन्छ । कक्षा १ मा भर्ना भएका विद्यार्थी १० कक्षासम्म पुग्दा ५६ प्रतिशत विद्यार्थीहरु अध्ययन छाडेको तथ्यांकले देखाउनुलाई नेपालको शिक्षा नीति, सरकारसम्मलाई प्रश्न गर्ने ठाउँ आएको छ ।
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७३ सालमा कक्षा १ मा भर्ना भएका ९ लाख ७३ हजार ६ सय ९५ विद्यार्थीमध्ये ५६ प्रतिशत बिचमै गायब हुने गरेको पाइएको छ । सरकारले विद्यालय शिक्षामा बर्षेनि एक खर्ब ५० अर्ब रूपैयाँ लगानी गरे पनि १० वर्षको दौरानमा यतिधेरै विद्यार्थी कहाँ गए भन्ने खोजविनको विषय बनेको छ ।
शिक्षा मन्त्रालयका अनुसार २०७३ सालमा देशभरका विद्यालयमा कक्षा १ मा ९ लाख ७३ हजार ६ सय ९५ विद्यार्थी भर्ना भएका थिए । २०८२ सालमा आइपुग्दा कक्षा १० मा पुग्ने विद्यार्थीको संख्या ४ लाख ६४ हजार मात्र छ । त्यसमा पनि यसपटक एसईई दिने विद्यार्थीको संख्या भने ४ लाख ३० हजार ६ सय ६७ मात्र थियो ।
यो हिसाबले ४४ प्रतिशत विद्यार्थीले अध्ययनलाई निरन्तरता दिँदै एसईईमा सामेल भएका थिए भन्ने बाँकी ५ लाख ४२ हजार ९ सय ३४ जना अर्थात् ५६ प्रतिशत विद्यार्थी बिचमै अध्ययन् छोडेर कहाँ हराए त ? सरकारले कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा निस्शुल्क तथा अनिवार्य र कक्षा ९ देखि १२ माध्यामिक शिक्षा निः शुल्क गर्ने व्यवस्था छ ।
सरकारले विद्यार्थी टिकाउन निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजालगायत कार्यक्रममा ठूलो रकम पनि खर्च गरिरहेको छ । निस्शुल्क शिक्षादेखि विद्यार्थीलाई विभिन्न सुविधा उपलब्ध गराए पनि बिचैमा कक्षा छाड्ने दर भने बढ्दो छ । गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएकै कारण धेरैजसो बालबालिका बीचमै कक्षा छोड्ने गरेको पाइन्छ ।
त्यसैगरी अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले पनि बालबालिकाले अध्ययन पूरा गर्न पाउँदैनन् । कतिपय विद्यालयले आर्थिक प्रलोभनमा धेरै विध्यार्थीको संख्या देखाउँदा १० वर्षको दौरानमा उनीहरूमध्ये कतिपय तथ्यांकबाट गायब भएको हुनसक्ने आशंका गरिएको छ ।


Add Comment