काठमाडौं। नेपाली सेनाका एक अधिकृतसँग सांसद राजु नाथ पाण्डेको व्यवहारलाई लिएर विवाद चुलिरहेका बेला जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले सम्पूर्ण सांसदहरूलाई लक्षित गर्दै सार्वजनिक चेतावनी दिएका छन्। उनले जनप्रतिनिधिहरूलाई पदको मर्यादा, संवैधानिक सीमारेखा र राज्यका संस्थाप्रतिको सम्मान कायम राख्न आग्रह गरेका हुन्।
हमालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसदको पद शक्तिको प्रदर्शन गर्ने माध्यम नभई जनताको विश्वास र जिम्मेवारीको प्रतीक भएको बताएका छन्। उनले निर्वाचित प्रतिनिधिहरूले आफ्नो आचरण र अभिव्यक्तिमा संयम अपनाउनुपर्नेमा जोड दिएका छन्।
“ए सांसदहरू हो, आफ्नो मर्यादामा बस्नु। हद हुन्छ नि। संसदको गरिमा र जिम्मेवारी बिर्सिएर नेपाली सेनाका अधिकृत राजु पाण्डेसँग गरिएको तल्लो स्तरको व्यवहार घोर निन्दनीय छ। सांसद हुनु दादागिरी गर्ने लाइसेन्स होइन। विधायकी मर्यादा, संवैधानिक सीमारेखा र राज्यका संस्थाप्रतिको सम्मान बिर्सिने छुट कसैलाई छैन,” हमालले भने।
उनले लोकतान्त्रिक शासन व्यवस्थाको आधार संस्थागत मर्यादा र कानुनी शासन भएको उल्लेख गर्दै संसद, नेपाली सेना, न्यायपालिका तथा अन्य संवैधानिक निकायबीच पारस्परिक सम्मान कायम रहनुपर्ने बताए। कुनै पनि जनप्रतिनिधिले आफ्नो पद र अधिकारको दुरुपयोग गरी राज्यका संस्थामाथि अनावश्यक दबाब सिर्जना गर्ने वा सार्वजनिक रूपमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उनको भनाइ छ।
हमालले लोकतन्त्र व्यक्तिको प्रभावभन्दा संस्थाको गरिमा र कानुनी शासनबाट बलियो बन्ने उल्लेख गर्दै सबै सांसदलाई आफ्नो संवैधानिक जिम्मेवारी र सार्वजनिक आचरणप्रति उत्तरदायी बन्न आग्रह गरेका छन्।
सांसद राजु नाथ पाण्डेसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। घटनाप्रति विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक क्षेत्रका व्यक्तिहरूले आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्। यस विषयमा सांसद पाण्डेको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।


Add Comment