काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व तथा पार्टीको वैधानिकतासम्बन्धी विवाद थप गहिरिँदै गएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आजदेखि छुट्टै वडा अधिवेशन सुरु गरेपछि कांग्रेसमा समानान्तर महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
विशेष महाधिवेशनबाट सभापति चयन भएका गगनकुमार थापा नेतृत्वको कांग्रेसले यसअघि नै आफ्नो १५औँ महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। वडा, गाउँपालिकारनगरपालिका तथा क्षेत्रीय तहका अधिवेशनहरू सम्पन्न वा जारी रहेको कांग्रेसले असोज १८ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने जनाएको छ।
तर देउवा पक्षले गगन थापा नेतृत्वको विशेष महाधिवेशन र त्यसबाट बनेको केन्द्रीय कार्यसमितिलाई वैधानिक नमान्दै छुट्टै अधिवेशन प्रक्रिया सुरु गरेको हो। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय आयोगलाई जानकारी गराइएको छ।
आखिर किन सुरु भयो समानान्तर अधिवेशन ?
कांग्रेसभित्रको विवाद मूलतः पार्टीको आधिकारिक नेतृत्व कसको हो र १५ औँ महाधिवेशन कुन केन्द्रीय समितिको नेतृत्वमा हुनुपर्ने हो भन्ने प्रश्नमा केन्द्रित छ।
देउवा पक्षले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको नयाँ केन्द्रीय कार्यसमितिलाई वैधानिक नमान्दै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निरन्तरता दिनुपर्ने दाबी गर्दै आएको छ। यही विवाद सर्वोच्च अदालतसम्म पुगेको छ।
उता थापा नेतृत्वको कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको र त्यसैअनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिरहेको बताउँदै आएको छ। कांग्रेसले विशेष महाधिवेशनअघि रहेका पदाधिकारी तथा सदस्यहरूलाई समेत वर्तमान केन्द्रीय कार्यसमितिमा समेटिएको जनाएको छ।
समानान्तर अधिवेशन भनेको कांग्रेस फुटेकै हो ?
समानान्तर अधिवेशन सुरु हुनु र पार्टी औपचारिक रूपमा फुट्नु एउटै कुरा होइन। तर एउटै पार्टीको नाम, संरचना र महाधिवेशन प्रक्रियालाई लिएर दुई समूहले छुट्टाछुट्टै निर्वाचन र नेतृत्व चयन गर्न थालेपछि पार्टीभित्र गम्भीर संगठनात्मक विभाजन देखिएको भने स्पष्ट हुन्छ।
अहिले देउवा पक्ष र थापा पक्षले अलग–अलग अधिवेशन कार्यक्रम अघि बढाएका छन्। त्यसैले तत्कालै ‘कांग्रेस फुट्यो’ भन्ने निष्कर्षभन्दा कांग्रेसको आधिकारिकता, नेतृत्व र महाधिवेशनको वैधानिकतामाथि दुई पक्षबीच गम्भीर विवाद रहेको अवस्था भन्नु तथ्यसँग बढी मेल खान्छ। अन्ततः कुन प्रक्रियाबाट निर्वाचित नेतृत्वलाई आधिकारिक मान्ने भन्ने विषय अदालत तथा सम्बन्धित संवैधानिकरनिर्वाचन निकायका निर्णयसँग पनि जोडिएको छ।
यसबीच देउवा पक्षले आफ्ना कार्यकर्तालाई समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ भने थापा पक्षले आफ्नो निर्धारित महाधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गर्दै आएको छ। परिणामतः कांग्रेसका कार्यकर्ता र प्रतिनिधिहरू अहिले ‘कुन अधिवेशनमा सहभागी हुनेरु’ र ‘कुन नेतृत्वलाई आधिकारिक मान्नेरु’ भन्ने दोहोरो राजनीतिक(संगठनात्मक परिस्थितिमा पुगेका छन्।


Add Comment