काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले आफ्नो २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँ सम्पन्न गरेको छ । सभामा अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, पेसागत हकहित संरक्षण, सामाजिक सुरक्षा र संस्थाको आर्थिक आत्मनिर्भरतामा जोड दिएका थिए । उनले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र तस्बिरको प्रतिलिपि अधिकार संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै फोटो पत्रकारको श्रम र अधिकारको सम्मानका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताए ।
संस्थाका महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८२÷८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य र फोटो पत्रकारहरूको हकहित संरक्षणमा भएका गतिविधिबारे जानकारी गराएका थिए । त्यस्तै कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधाका पाँच फोटो पत्रकारलाई गरिएको थियो । जसमध्ये साहसिक विधामा अनुप प्रधान, पर्यावरण–पर्यटनमा सागर गिरी, मनोरञ्जनमा बर्दी थापा, सांस्कृतिकमा प्रकाश गोपाली र खेलकुदमा बसन्त शेर्पा थिए ।
त्यसैगरी, पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ हरिश सिंह नगाललाई नगद पाँच हजार रुपैयाँसहित प्रदान गरियो। ‘एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८३’ संस्थाका सदस्य रामशरण महर्जन ‘अजय’लाई प्रदान गरिएको थियो।


Add Comment