भूकम्पले भत्काएका विद्यालय नै बनिसकेका छैनन्, धरहराकाे फूर्ति ?

गोरखा । गाेरखामा भूकम्प गएकाे यतिका वर्ष गइसक्दा पनि अझै विद्यालयहरू नै बन्न बाँकी छन् । २०७३ देखि सुरु भएको भूकम्पले भत्किएका गोरखाका विद्यालय पुनर्निर्माणको काम अहिलेसम्म २० वटा विद्यालय निर्माण सम्पन्न हुन सकेका छैनन्। क्षतिग्रस्त तीन सय ४२ वटा विद्यालय भवन निर्माणको स्रोत सुनिश्चित भइसक्यो। चालु वर्ष ५५ वटा भवन निर्माणाधीन छन्। यति हुँदा पनि अझै गोरखामा २० वटा भन्दा बढी आधारभूत विद्यालयको भवन निर्माण हुन बाँकी छ। ‘भुकम्पमा भत्किएका अधिकांश विद्यालय भवन निर्माण भईसक्यो’, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख विष्णुप्रसाद मिश्रले भने, ‘जिल्लाभित्रका २० भन्दा बढी विद्यालयमा अझै भौतिक संरचना अपुग छ।’

तीमध्ये सिरानचोक गाउँपालिका ५ छोप्राकको तालबाराही आधारभुत विद्यालय, जनकल्याण आधारभूत विद्यालय, सिरानचोक ६ को कामधेनु आधारभूत विद्यालय, पालुङटार ६ गाईखुरको वीरभद्र आधारभुत विद्यालय, भीमसेन थापा गाउँपालिका ५ को चामुण्डा आधारभुत विद्यालय, जनकल्याण आधारभूत विद्यालय, रामचन्द्र आधारभुत विद्यालय, भीमसेन २ को मुना आधारभुत विद्यालय बन्न बाँकी रहेका उनले बताएका छन्। यस्तै धार्चे ६ को चन्द्रदेवी आधारभुत, धार्चे १ को गणेशहिमाल आधारभुत विद्यालय, चुमनुब्री गाउँपालिका ७ को छेकम आधारभुत विद्यालय, छुलेनिले आधारभूत विद्यालय, चुमनुब्री ६ को चुम्लिङ आधारभुत विद्यालय, पेमाथान आधारभुत विद्यालय, चुमनुब्री ४ को प्रोक आधारभुत विद्यालय पनि पुनर्निर्माण हुन बाँकी रहेका छन्। यी विद्यालयमा पढाउन पर्याप्त कक्षाकोठा नभएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख मिश्रले बताए।

यस्तै गोरखा नगरपालिका ३ को दुम्श्री आधारभुत विद्यालय, गोरखा नगरपालिका ७ का पृथ्वी स्मारक आधारभुत विद्यालय, गोरखा नगरपालिका २ को मदरसा हाफनिया रजवीया आधारभुत विद्यालय पनि पुनर्निर्माण हुन बाँकी रहेका छन्। शहिदलखन गाउँपालिका ७ को मकैपुर आधारभुत विद्यालय, अजिरकोट ढिस्काको झाँक्रापुरी आधारभुत विद्यालयमा भबन आवश्यक रहेको जिल्ला आयोजना कार्यन्वयन इकाईले जनाएको छ।

‘यी विद्यालय बाहेक अन्यत्र भवन बन्ने स्रोत सुनिश्चित छ’, जिल्ला आयोजना कार्यन्वयन इकाईका प्रमुख विष्णुप्रसाद मिश्रले भने। अब भवन निर्माण गर्दा यी विद्यालयलाई प्राथमिकतामा राख्ने गरी सर्वेक्षण गरिएको उनले बताए। अन्नपूर्ण पाेष्टमा खबर छ ।