एकै दिनमा ३ लाख ५० हजार संक्रमित थपिन्छन् भारतमा

भारत । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा साढे तीन लाख संक्रमित थपिएसँगै देशभर कोरोना भाइरस संक्रमणको अवस्था भयावह देखिएको छ ।

भारतमा लगातार ४ दिनसम्म ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमै पहिलो पटक भारतमा लगातार चौथो दिनपनि कोरोना संक्रमणले रेकर्ड बनाएको हो ।

कोरोनाको दोस्रो लहरबाट सबैभन्दा प्रभावित भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यससँगै, भारतमा १ करोड ६६ लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ७६१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । संक्रमितमध्ये १ करोड ४० लाखभन्दा बढी निको भइसकेका छन् भने करिब २७ लाख सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणमा संख्याको आधारमा सबैभन्दा अगाडि रहेको अमेरिकामा ३ करोड २७ लाख ८८ हजारभन्दा बढी संक्रमित रहेका छन् । तेस्रोमा रहेको ब्राजिलमा १ करोड ४३ लाखभन्दा बढी संक्रमित रहेका छन् ।