नेपालमा पनि काेराेनाकाे भयावह

काठमाडौँ । भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए । यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो ।

अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भेन्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लैजाने तयारीमा लागे । उनीहरूले एम्बुलेन्स खोजे । बल्ल अपराह्न ५ बजे नेपाल एम्बुलेन्स सेवाको एम्बुलेन्स अस्पताल आइपुग्यो । उनी केही दिनसम्म घरायसी उपचार गर्दै होम आइसोलेसनमा बसेका थिए ।

सास फेर्न गाह्रो भएपछि आफन्तले आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएका थिए । अस्पतालमा प्राथमिक उपचार त भयो तर उनलाई अक्सिजनको मात्रा बढाएर तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो । अस्पतालमा भेन्टिलेटर खाली थिएन ।

एम्बुलेन्स आएपछि अक्सिजन सिलिन्डर जोडेर बिरामीलाई ह्वीलचियरमा गुडाउँदै बाहिर निकालियो । अक्सिजन जोड्दा पनि बिरामीलाई असहज देखिन्थ्यो । उनी बारम्बार खोकिरहेका थिए । अस्पतालमा बेड नपाएपछि घरबाट लगिएको बिरामीलाई एम्बुलेन्समै राखेर सेवा दिएको नेपाल एम्बुलेन्स सेवाका प्रमुख रञ्जित आचार्यले बताए । ट्वीटरमा उनले लेखेका छन्, ‘अस्पतालमा बेड नपाएर बिरामीलाई अक्सिजन सपोर्टका लागि एम्बुलेन्समै राख्नुपरेको छ । यो क्रम बढ्दै जानेछ । अहिले नै आइसोलेसन बेड अक्सिजनको जोहो गरौं नत्र रोगले होइन, उपचार नपाएर ज्यान जानेछ ।’

सीसीएमसीको आइतबारको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यस्तै दृश्य सुनाएका थिए । ‘अस्पतालका सबै बेड भरिइसके । सचिव, मुख्य सचिव, मन्त्री जसलाई कोरोना लागे पनि बेड पाउने अवस्था छैन । यो अवस्था टुटाउन केही न केही निर्णय गर्नैपर्छ,’ उनको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने । बेड सबै भरिएपछि टेकु अस्पतालमा आउन सक्ने बिरामीको उपचारको व्यवस्था गर्न आकस्मिक कक्षबाहिर अक्सिजनको पाइप जडान गर्न लागेको निर्देशक डा. सागरराज भण्डारीले बताए । ‘अब बेड खाली छैन । सास फेर्न गाह्रो भएर आएका बिरामीलाई बाहिरै राखेर भए पनि अक्सिजन दिने व्यवस्थापनमा जुटेका छौं,’ उनले भने ।

मन्त्रालयका अनुसार यो अस्पतालको आइसोलेसन वार्डमा ४७ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १० जना उपचाररत छन् । बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा पनि दिनमा १० जनाभन्दा बढी भर्ना गर्नै नसक्ने अवस्था रहेको कोरोना संक्रमितको व्यवस्थापनमा नेतृत्व गरेका डा. प्रवीन नेपालले बताए । यो अस्पतालमा सबैभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । यहाँ आइसोलेसनमा १ सय ६ जना, आईसीयूमा १० जना, भेन्टिलेटरमा ८ जना उपचाररत छन् । काठमाडौं उपत्यकाका १२ वटा अस्पतालको आइसोलेसनमा ५ सय ५४ जना, आईसीयूमा ८२ र भेन्टिलेटरमा ४० जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित १० वटा पुगेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ हजार ४ सय ५६ जना सक्रिय संक्रमित छन् । यो देशभरिको कुल संक्रमितको ४३ दशमलव ६२ हो । काठमाडौंमा सबैभन्दा बढी ६ हजार ५ सय २८ सक्रिय संक्रमित छन् । संक्रमित बढेसँगै होम आइसोलेसनमा बसेकालाई गाह्रो भएपछि अस्पताल लानुपर्दा एम्बुलेन्ससमेत पाउन मुस्किल पर्न थालेको छ । कलंकीकी ३२ वर्षीया महिलाले आइतबार बिहानदेखि कोसिस गर्दा पनि एम्बुलेन्स नपाएपछि ट्याक्सीमै अस्पताल पुगिन् । ‘सास फेर्न गाह्रो भएकाले अस्पताल ल्याउन खोज्दा एम्बुलेन्स पाउनै सकिएन,’ संक्रमितका श्रीमान्ले भने ।याे समाचार कान्तिपुरदैनिकमा छ । उनलाई रुघाखोकी, ज्वरो भए पनि परीक्षण गरेका छैनन् । कोरोना पोजिटिभ भएका आफन्तलाई ज्वरो नघटेपछि हामी पनि एक्सरे र रगत परीक्षण गर्न अस्पताल गएका थियौं । एक्सरे गर्ने र रगतको नमुना दिन अस्पतालमै डेढ घण्टा बस्दा एक जना बिरामी निजी अस्पतालमा गए भने होम आइसोलेसन बसेर गम्भीर भएका तीन जना अस्पताल आइपुगे । उनीहरू सबैजसो अक्सिजनको मात्रा कमी भएपछि अस्पताल आएका थिए ।