वाँकेमा कोरोनाबाट ८५ जनाको मृत्यु सोमबारबाट निषेधाज्ञा

बाँके । बाँके जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले  सोमवार रातीबाट लागू हुनेगरी निषेधाज्ञाको जारी गरेको हो । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको  प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

यस्तै एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने आदेशमा उल्लेख छ । उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने पनि उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको र कोरोनाको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नुपरेको बताएका छन् ।
बाँकेमा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ ।