जसपाले कांग्रेस माओवादी गठबन्धनलाई सघाउने

काठमाडाैं । बाबुराम भट्टराई अस्पतालमा उपचारकाे लागि भर्ना हुन गएपछि पनि जनता समाजवादी पार्टीमा पनि  केपी ओली नेतृत्वको सरकारकाे विपक्षी मत बढ्दै जाने क्रम राेकिएकाे थिएन । अब जसपा कांग्रेस माओवादी गठबन्धनलाई सघाउने मनस्थितमा रहेकाे छ ।  ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने मतकाे बहुमत भएकाे जसपाका एक नेताले कालाेपाटीलाई बताए । यसअघि ओली नेतृत्वको सरकारकाे विपक्षकाे  अगुवाइ उपेन्द्र यादव र भट्टराईले गरेका थिए ।  पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् ।महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए । ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ ।

उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने । जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् । उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन् । जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् ।

पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन् । यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा धेरै नेताले हस्ताक्षर गरेका छैनन् । यसले जसपामा पनि ओली नेतृत्वको सरकारकाे विपक्षी मत बढेकाे देखिन्छ ।  नागरिक दैनिकमा खबर छ ।