सर्वसाधारणलाई निशुल्क उपचार गराउन ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले मजदुरलाई तत्काल राहत र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ । युनियनले बिहीबार ईमेलमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ज्ञापनपत्र पठाउँदै राहत र निःशुल्क स्वास्थ्य उपचारको माग गरेको हो ।

 

महासचिव योगेन्द्र कुवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निषेधाज्ञाको कारण अनौपचारिक/स्वरोजगार एवं दैनिक ज्यालादारी मजदुर कामविहीन भइ भोकभोकै बस्नु पर्ने अवस्था आएको उल्लेख गर्दै गम्भीर हुन आग्रह गरेको छ । विज्ञप्तिमा अस्पतालमा व्याप्त शय्या र अक्सिजन अभावलाई छिटो व्यवस्थापन गर्नुपर्ने र मजदुर एवं आमनागरिकको निःशुल्क उपचारको माग गरिएको छ । महामारीको बेला अग्रपंक्तिमा कार्यरत मजदुर, कर्मचारीलाई प्रोत्साहन गर्नु र मजदुरलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्ने युनियनको माग छ ।