विपक्षी नेताहरु नयाँ रणनीति बनाउन देउवाको घरमा

काठमाडौं । विपक्षी दलहरु आगामी रणनीति बनाउन देउवाको घरमा छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस , माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल जारी छ ।  बैठकमा कांग्रेसबाट, देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।कांग्रेस , माओवादी र जसपाको यादव पक्षले आगामी रणनीति बनाउन छलफल भइरहेको हाे ।

 

वैकल्पिक सरकार निर्माणमा सफल हुन नसक्नुको कारणबारे पनि  छलफलमा समीक्षा भइरहेको छ । देउवा, प्रचण्ड र उपेन्द्रबीच वैकल्पिक सरकार बनाउने प्रयास हिजो असफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार निर्माणका लागि आह्वान गरेकी थिइन् । तर उनीहरुले बहुमत दाबी पेस गर्न सकेनन् । त्यसपछि राष्ट्रपति भण्डारीले हिजो नै संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । अब ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ  ।