अक्षय तृतीया, परशुराम जयन्ती र इद पर्वकाे शुभकामना

काठमाडाैं । आज हिन्दुहरूकाे पवित्र चाड अक्षय तृतीया हाे । आजकै दिन भगवान शिवजीकाे विवाह भएकाे मानिन्छ । अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो । त्यसैगरी  आज भगवान परशुरामजीकाे जन्म दिन पनि रहेकाे छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मनुभएको हो । ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।

 

त्यसैगरी आज मुस्लिमहरूकाे इदुल फित्र पनि परेकाे छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना सौवालको पहिलो दिन पवित्र चाड इद मनाइने गरिन्छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने गरिन्छ । यस पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान इस्लाम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको बताइन्छ । यस पर्वका अवसरमा इस्लाम समुदायले नयाँ कपडा लगाई साथीभाइ कहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यी तिनवटै पर्वहरू  यसवर्ष घरमा नै बसी मनाइने भएकाे । काेराेनाका कारण यसाे भएकाे हाे । हजूरहरू सबैमा ईकालेपाटी परिवारकाे तर्फबाट अक्षय तृतीया, इद र परशुराम जयन्तीकाे शुभकामना  ।