नागरिक एप डाउनलाेड गर्ने पाँचलाख बढी

काठमाडाैं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने गरी तयार पारिएको नागरिक एप एन्ड्राेइडमा ५ लाखभन्दा धेरै डाउनलाेड भएकाे छ । अधिकांश सरकारी सेवा तथा सुविधा एउटै एपमार्फत दिने उद्देश्यसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गत माघ २ गते नागरिक एपको बेटा संस्करण सार्वजनिक गरेका थिए । अहिले नागरिक एपको फुल भर्सन आइसकेको छ । यसअन्तगर्त गुगल प्ले स्टोरबाट मात्रै ५ लाख डिभाइसमा यो एप डाउनलोड भएको हो । सार्वजनिक सेवाका लागि छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुनेगरेको भन्दै सरकारले एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको हो । यसमा नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता नागरिकका प्रमाणीत विवरण छन् ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि नागरिक एपमा उपलब्ध छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि यसमा जोडिएको छ । एसएलसी र प्लसटु तहका शैक्षिक विवरणसमेत एपमा राखिएका छन् । पछिल्लो समय स्वास्थ्य बीमाको जानकारी हेर्न सकिने सुविधा पनि यसमा थपिएको छ । नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा केही समय अघिदेखि यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत प्राप्त गर्न सकिने भएको छ ।

प्रयोगकर्ताले ईमेल भेरिफाई गरेर आफ्नो नागरिक एपमा लिङ्क गराउन सक्छन् । यसअघि नेपाल टेलिकम र एनसेलका नम्बरबाट मात्र नागरिक एपको खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकम समेत एपमा जोडिएको छ । यससँगै अब नेपालका जुनसुकै मोबाइल नम्बरबाट नागरिक एपको खाता खोल्न सकिने भएको छ । तर, मोबाइल नम्बर भने अनिवार्य रुपमा आफ्नै नामको हुनुपर्ने बनाइएको छ । खाता खोल्ने क्रममा नागरिकता फेला नपरेको वा त्रुटी देखिएको अवस्थामा एपबाटै त्यसको समाधानका लागि अनुरोध गर्न सकिने व्यवस्था मिलाइएको छ । अब मतदाता परिचयपत्र, राहदानी, प्यान, शैक्षिक विवरणमा कुनै त्रुटि देखिएमा सच्याउन सकिने सुविधा समेत थप हुने सरकारले जनाएको छ ।

सवारीसाधनको राजस्व तथा नवीकरण शुल्क पनि अब नागरिक एपबाटै तिर्न सकिनेछ । साथै एपबाट आफ्नो लालपूर्जा तथा जग्गाको कित्ता अनलाइनमा हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्न सकिनेछ । भूमिसुधारमा रहेको आफ्नो जग्गाको स्थिति थाहा पाउन सकिनेछ, स्थानीय तहबाट सिफारिस लिने तथा कर तिर्ने लगायतका सेवा पनि एपले नै दिनेछ । एपबाट नागरिक पहिचान प्रमाणीकरण गर्न सकिने क्यूआर कोड राखिएको छ । जसको सहयोगमा हाल एपबाटै बैंक खाता खोल्न सकिने सेवा सुविधा उपलब्ध गराइएको छ । अब यसलाई क्रमशः लोकसेवाको फारम भर्ने, सिम कार्ड खरिद गर्ने, सरकारी तथा सार्वजनिक सेवा लिने लगायतका काममा समेत प्रयोगमा ल्याइने सरकारी घोषणा छ । यसका साथै मोबाइलमा मात्र उपलब्ध नागरिक एपका सेवा तथा सुविधा अबका दिनमा वेबसाइटबाट समेत लिन सकिने उल्लेख छ ।