इजरायलले गाजामा गरेको हवाई आक्रमणमा आठ बालबालिकाको मृत्यु

एजेन्सी । इजरायलले गाजामा शनिवार गरेको हवाई आक्रमणमा परेर एकैठाउँमा भेला भएका आठजना बालबालिकाको मृत्यु भएको छ ।  ती बालबालिका आफ्नी आमासँग ईद पर्व मनाउन मामाघरमा भेला भएका थिए । अग्लो भवनमा इजरायलको क्षेप्यास्त्र आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मोहम्मद हदिदीकी पत्नी र पाँचजना छोराहरू घरभित्रै हुँदा क्षेप्यास्त्र विस्फोट गरिएको थियो । पाँच महिनाका ओमारलाई मात्र भग्नावशेषबाट जीवितै बाहिर निकालिएको थियो ।  उद्धारकर्ताहरूले खेलौना, मोनोपोली बोर्डगेम र ईदको इफ्तारको अवशेषमा कोही जीवित छन् कि खोजेका थिए ।

‘मेरी पत्नी उसको दाइलाई भेट्न गएकी थिइन् । मेरा छोराहरू भन्दाइहरूसँग खेल्न रमाइरहेका थिए र राति त्यहीँ बस्ने भने । उनले मानिन्,’ हदिदीले भने । बच्चाहरूको त्यही खेल नै कालको कारण बन्यो ।  हदिदीको परिवारलाई नै सखाप पार्ने हवाई आक्रमणको केही घन्टापछि इजरायलले अलजजीरा, एपी र एएफपीका कार्यालय भएको भवन ध्वस्त पारेको थियो ।  एपीले सञ्चारकर्मीहरूलाई चुप लगाउनका लागि इजरायलले यो कुकर्म गरेको भन्दै आलोचना गरेको छ ।  विगत एक सातादेखि गाजामा इजरायल र हमासबीचको संघर्ष निकै हिंस्रक बनेको छ । यसले गर्दा नयाँ प्यालेस्टाइनी इन्तेफादा वा विद्रोह उठ्ने आशंका गरिएको छ ।