काठमाडाैं महानगरकाे दैनिक १० हजार मानिसमा एन्टिजेन परीक्षण गर्ने लक्ष्य

काठमाडाैं । कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंको विभिन्न ठाउँमा एन्टिजेन्ट परीक्षण सुरु भएको छ । १० हजार मानिसमा एन्टिजेन परीक्षण गर्ने लक्ष्यअनुसार मंगलबारबाट काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रूपमा परीक्षण थालेका हुन् । परीक्षण सुरुवात कालीमाटी तरकारी तथा फलफूल बजारबाट भएको छ । ‘स्वास्थ्य मन्त्रालय र सिसिएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरू पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरूमा गएर बृहत् परीक्षण हुनेछ,’ महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले भने, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउन यो उपयुक्त विधि हो । परीक्षण गरिएका सबै व्यक्तिलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा बस्न भनेको उनले जानकारी दिए ।

परीक्षणका लागि कालीमाटी पुगेका महाशाखाका ल्याब टेक्निसियन निरीक्षक भोला अधिकारीले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’  महानगरका अनुसार बुधबार वडा नम्बर ३२ को तरकारी बजारमा एन्टिजेन परीक्षण हुनेछ । तरकारी बजारसहित अहिले पनि धेरै मानिस भेला हुने ठाउँलाई पहिलो प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडामा परीक्षण गराउने योजना छ । परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ । उनीहरूका अनुसार कसैको शरीरमा कोरोना भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन पाँच दिनसम्म लाग्न सक्छ । यसअघि (लक्षण देखिनुअघि) कसैमा कोरोना छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी मानिएको छ । महानगरका अनुसार पहिलो चरणमा करिब १० हजारजनाको एन्टिजेन परीक्षण गरिने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।