भारतीय व्यापारीसँग पैसा असुल्न खोज्दा सीमाका प्रहरीमाथि हातपात

महोत्तरी । महोत्तरी जिल्लाको सीमामा भारतीय व्यापारीसँग पैसा माग्दा नेपाली सीमाका प्रहरीमाथि हातपात  भएको छ ।  महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति  प्रहरीमाथि हातपात हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका हुन् । दुवै पक्षबाट हुलहुज्जत गरी हातपात भएको थियाे ।

मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढुङ्गामुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गा मुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवानको टाउको फुटेको छ ।