काठमाडौं महानगरद्वारा विशेष कोभिड अस्पताल सञ्चालन

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीब्ररुपमा बढ्दै गइरहेको छ । कोभिड संक्रमण न्यूनिकरण तथा रोकथाम गर्नका लागि संघ सरकारले स्थानीय सरकारलाई विभिन्नखाले जिम्मेवारी दिएको छ । देशको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाले कोभिड संक्रमित बिरामीहरुको उपचार सहजताका लागि विभिन्न सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अस्पतालजन्य सामग्री अनुदान स्वरुप उपलब्ध गराउँदै आएकको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

अन्य अस्पतालहरुलाई कोभिड उपचारका लगि आर्थिक सहयोग गर्दै आएको महानगरले बुधबार भने आफ्नै लगानीमा छत्रपाटी निःशुल्क चिकित्सालयलाई विशेष कोभिड अस्पतालको रुपमा सञ्चालन गरेको छ ।बुधबारबाट सञ्चालनमा ल्याइएको विशेष कोभिड अस्पतालको महानगरका प्रमुख विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संयुक्त रुपमा अस्पताल सञ्चालनको लागि उद्घाटन गरेका छन् ।

विषेश कोभिड अस्पतालको उद्घाटन गर्दै सहरी विकास राज्यमन्त्री रामविर मानन्धरले कोभिड लक्षित विषेश अस्पतालहरुको संख्या बढाउनुपर्नेमा जोड दिएका थिए ।उनले महाममारीसंग लड्नको लागि राज्यका सवै निकाय एकजुट हुन आवश्यक रहेकौ बताउँदै महानगरपालिकाका भित्रका सहरहरुमा अत्यधिक जनसंख्या भएकाले पनि यस्ता किसिमका अस्पतालहरुको संख्या बढाउन आश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा महानगर प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्र बसोवास गर्ने कुनै पनि नागरिकले कोभिडको उपचार पाउनबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको बताए ।कोभिड १९ महामारी सुरु भएदेखि नै आम नागरिकको स्वास्थ्य सुरक्षा एवं संक्रमण जोखिम न्यूनीकरण गर्न आफूहरु प्रतिबद्ध भएर लागेको प्रमुख शाक्यको भनाइ थियो ।

सोहीक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पूर्वाधार विकासका कामलाई थाति राखी स्वास्थ्य क्षेत्रमा महानगरले निरन्तर लगानी गरिरहेको बताए । उनले महानगरपालिकाको कार्यपालिका बैठकले सरकारी तथा सामुदायिक अस्पताललाई महामारी विरुद्ध लड्न आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने निर्णय भए अनुरुप अस्पतालहरुलाई सहयोग गरिरहेकोे जानकारी दिए ।

कार्यक्रममा छत्रपाटि निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरपालिकाको सहयोगमा स्थापना गरिएको कोभिड विषेश अस्पताललाई निरनतर रुपमा सञ्चालन गरिने बताए । अस्पताल भित्री सहरमा रहेको र करिब ५ लाख जनसंख्यालाई उपचार सेवा दिनुपर्ने भएकाले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उनले प्रविद्धता समेत व्यक्त गरे । – हरिकृष्ण खतिवडा