सेयर बजारका दुई निकायबीच  झैझगडा, बजारको बाटो कता ?

काठमाडाैं । सेयर बजारका दुई निकायबीच  झैझगडाको अवस्था सिर्जना भएको  छ । नियामक र व्यवस्थापक मानिएको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच झैझगडाकै अवस्था सिर्जना भएपछि उकालो लागिरहेको सेयर बजारकाे कारोबार  तल झर्ने देखिएको छ । यिनीहरूमा यसरी झैझगडा हुनुमा लेनादेना नमिल्नु नै हो । दुई निकाय मिलेर खाइरहँदा बजारमा समस्या थिएन । हाल खानपान र लेनादेना नमिलेपछि दुवैले एक अर्कालाई दोषी मानिरहेका छन् ।  खासमा बोर्ड सेयरबजारको नियामक हो भने नेप्से व्यवस्थापक। मंगलबार बोर्डले पछिल्लो समय सेयरबजारमा नाटकीय रुपमा कारोबार बढेको भन्दै केही कम्पनीले चलखेल गरेको सूचना निकालेको थियो । त्यसपछि  उसले सेयर लगानीकर्तालाई ५१ कम्पनीको नामै किटेर यी कम्पनीमा लगानी गर्नु जोखिमयुक्त भन्दै सचेत गराइदियो भएन त अनि झमेला ?  यो घटनापछि दुवै निकाय शत्रुजस्ता भएका छन् ।

बोर्डले कम्पनीको नाम तोक्नु गलत रहेको नेप्सेको  प्रतिक्रिया छ। नेप्सेका सीईओ चन्द्रसिंह साउदले भने, ‘कम्पनीको मूल्य तोक्ने काम धितोपत्र बोर्डको होइन, यसरी कम्पनीको नाम तोक्नुहुँदैन।’ बोर्डले लगानीकर्तालाई बुझेर र कम्पनीबारे अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गर्नुपर्ने उनको भनाइ छ । उनले थप्दै भने, ‘भने पनि काम हेरेर र बुझेर लगानी गर्नुस् भन्नेसम्म हो। कम्पनी नै तोकेर यी नराम्रा कम्पनी हुन् भन्नु अनुचित नै हो।’ दुई दिनअघि मात्रै सेयरबजारमा कारोबार रकम २० अर्ब पार गरेको थियो भने बजार परिसूचक नेप्से पनि ३ हजार विन्दु माथि पुगेको थियो। यी दुवैको भनाभनले बजारका लगानीकर्ता निरास छन् ।

२०७३ साउन, २०७७ वैशाख र २०७८ जेठ ३१ गतेको सेयर मूल्य अवस्थाको तुलनात्मक अध्ययनमा यो वर्ष सेयरमा अत्यधिक मूल्यवृद्धि भएको बोर्डले जनाएको छ। यी कम्पनीको मूल्य आम्दानी अनुपात सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा ५१ कम्पनी हाल जोखिमयुक्त देखिएको बोर्डको अध्ययनले देखाएको छ। यतिमात्रै होइन, बोर्डले उक्त सूचीकृत संगठित संस्थाको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाएकोे छ । यसरी कम्पनी नै किटेर सिधै जोखिमयुक्त भनेपछि बोर्डसँग नेपाल स्टक एक्सचेन्ज असन्तुष्ट देखिएको हो।

त्यसअघि नै सेयर बजार विश्लेषकहरुले सेयरबजार निकै माथि पुग्ने अड्कलबाजी अनुमान र विश्लेषण गरिरहेका थिए। खासगरी निषेधाज्ञाकै बेला सेयरबजारमा कारोबार बढिरहेको थियो। अहिले पनि बैंक तथा वित्तीय संस्थाका पैसाहरु समेत मनग्य रुपमा सेयरबजारमा लगानी भइरहेका छन् । यस्तो अवस्थामा बोर्डले पछिल्लो समय ह्वात्तै सेयर मूल्य बढ्ने गरी एकपछि अर्को कीर्तिमान बनेको भन्दै ५१ कम्पनीको सेयरबारे तुलनात्मक अध्ययन गरेको थियो। सोही अध्ययनमा ती कम्पनीका सेयर अस्वाभाविक रुपमा बढेको ठहर बोर्डको छ। कतिपय कम्पनीको १०० देखि ३०० गुणासम्म धेरैले सेयर मूल्य बढेको छ।