आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैलका १९ वर्षीय रोहित कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 

यादवलाई आइतवार नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय सीमा नजिकबाट पक्राउ गरिएको प्रवक्ता काफ्लेले बताए । 

गत शुक्रबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर हटैलस्थित शिवनाथ यादवको आँप बगैँचामा ९ वर्षीया बालिकाको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सप्तरी, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र संघीय प्रहरी ईकाइ कार्यालय जनकपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले घटनामा संलग्न यादवलाई पक्राउ गर्न सफल भएको हो । 

अनुसन्धानको क्रममा बालिकालाई आपँको प्रलोभन दिई जबरजस्ती करणी गरी हत्या गरेको विषय खुलेको प्रवक्ता काफ्लेले बताए । शुक्रबार बिहान साढे ७ बजे आफ्नी बहिनीसँगै बालिका घर छेउमै बाख्रा चराउन गएकी थिइन् । बाटोमा आँपको बगैँचानजिक पुगेपछि ती बालिकाले २ वटा आँप बहिनीलाई दिएर खेततर्फ पठाएको र आफू थप आँप लिएर आउने भनेर त्यहीँ रोकिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नजिकैको शिवनाथ यादवको आँप बगैँचामा गई आँप टिपिरहेको अबस्थामा रोहितले बगैँचामा कोही नभएको मौका छोपी बालिकालाई आँप दिने प्रलोभनमा करणी गरेका थिए । तर बालिकाले सो कुरा आमालाई बताइदिने भनेपछि बालिकाको साथमा रहेको हँसियाले घाँटी रेटी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको सप्तरी प्रहरीले जनाएको छ ।